ईटहरी : नेपाली काँग्रेस इटहरी उपमहानगर सभापति विकास केसीलाई जनप्रतिनिधिका रूपमा इटहरी उपमहानगरपालिकाको नेतृत्व गर्न सुझाव दिइएको छ। जनता बहुमुखी क्याम्पस प्रजातन्त्रवादी प्राध्यापक सङ्घले बुधवार आयोजना गरेको सम्मान कार्यक्रममा सहभागीहरूले केसीलाई स्थानीय सरकारको नेतृत्वमा आउन सुझाव दिएका हुन्।
जनता बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्षसमेत रहेका केसी नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सर्वसम्मत रूपमा इटहरी नगर सभापति चयन भएपछि सम्मानित भएका हुन्। कार्यक्रममा सहभागीहरूले सामाजिक संस्था र शैक्षिक क्षेत्रको नेतृत्वमा अनुभव हासिल गरेका केसीले अब जनप्रतिनिधिका रूपमा इटहरीको समग्र विकासमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा राखे।
सम्मानपछि केसीले सबैको सल्लाह, सहकार्य र इटहरीवासीको भावनाअनुसार अघि बढ्ने बताए। “पार्टीको नेतृत्व गर्ने अवसर पाएँ, यसलाई सही ढङ्गले सदुपयोग गर्दै स्थानीय सरकारको पनि नेतृत्व गर्ने ढङ्गले काम गर्न दृढ छु,” उनले भने।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष तीर्थ पराजुलीले सामाजिक संस्थामा सक्रिय रहँदै पार्टीमा निरन्तर योगदान गरेका केसी सर्वसम्मत रूपमा निर्वाचित हुनुले उनको नेतृत्व क्षमता देखाएको बताए। उनले जनप्रतिनिधिका रूपमा पनि नेतृत्व गर्न केसीलाई सुझाव दिए।
सञ्चालक समिति सदस्य शिवराज दाहालले टिम परिचालन गर्न सक्ने क्षमता भएकाले केसी जुनसुकै संस्थाको नेतृत्वमा रहे पनि सफल हुन सक्ने धारणा राखे। क्याम्पसका कायममुकायम प्रमुख सञ्जीव यादवले केसीले आफूले नेतृत्व गरेका संस्थाको हितमा समर्पित भएर काम गर्ने गरेको बताए।
क्याम्पसको बीआईसीटी विभागका प्रमुख मन्दिप भट्टराईले क्याम्पसको उन्नयनमा केसीले गरेको योगदानले पार्टी नेतृत्वमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। सहायक प्रमुख इन्द्र प्याकुरेलले केसी सञ्चालक समितिको अध्यक्ष बनेपछि विद्यार्थीको नतिजामा सुधार हुनुका साथै प्रशासनिक, आर्थिक र भौतिक पूर्वाधार विकासमा प्रगति भएको बताए। क्याम्पस तथा सामाजिक संस्थामा हासिल गरेको अनुभवले पार्टीलाई प्रभावकारी रूपमा अघि बढाउन र स्थानीय सरकारको नेतृत्व गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
प्रजातन्त्रवादी प्राध्यापक सङ्घ जनता बहुमुखी क्याम्पसका अध्यक्ष लिला बहादुर कार्कीले काङ्ग्रेसभित्र परिवर्तनको प्रक्रिया अघि बढिरहेका बेला केसीले इटहरीको समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा क्याम्पसका कर्मचारी प्रमुख करुणशंकर राई, प्रजातन्त्रवादी कर्मचारी युनियनका अध्यक्ष शान्त कटुवाल कार्की, नेपाल विद्यार्थी सङ्घ जनता बहुमुखी क्याम्पस इकाई सभापति सुमनबाबु बस्नेतलगायतले पनि धारणा राखेका थिए।
केसी २०८० साउन २० गते भएको निर्वाचनबाट जनता बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा विजयी भएका थिए।
प्रतिक्रिया 0