हङकङ : बाढीपीडितको सहयोगार्थ हङकङमा ‘दशैँ तिहार फेस्ट २०८३’ सम्पन्न भएको छ।
नेप्लिज आर्ट एन्ड इन्टरटेनमेन्ट कम्युनिटी हङकङको आयोजनामा अक्टोबर १८ (आइतबार) जोर्डनस्थित एभरेस्ट रेस्टुरेन्टको हलमा कार्यक्रम सम्पन्न भएको हो।
‘एक भई हातमा हात मिलाएर पुनर्निर्माण र परिवर्तनमा सहभागी हौँ’ भन्ने नारासहित आयोजित कार्यक्रम रसुवाको भोटेकोसी क्षेत्रमा भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा हङकङमा रहेका नेपाली कलाकारहरूले सांगीतिक तथा नृत्य प्रस्तुति दिएका थिए।
आयोजक संस्थाका अनुसार कार्यक्रममा पाँच सयभन्दा बढीको सहभागिता रहेको थियो।
यसै वर्ष स्थापना भएको नेप्लिज आर्ट एन्ड इन्टरटेनमेन्ट कम्युनिटी हङकङको यो पहिलो कार्यक्रम हो।
संस्थाका अध्यक्ष सेनिस गुरुङले हङकङमा रहेका नेपालीहरूको प्रतिभा उजागर गर्ने,क्षमता अभिवृद्धि गर्ने र सामाजिक कार्यमा सहभागी गराउने उद्देश्यले संस्था स्थापना गरिएको बताए।
‘हङकङमा प्रतिभावान् नेपालीहरू धेरै हुनुहुन्छ। तर, उचित अवसर नपाउँदा उहाँहरूको क्षमता बाहिर आउन सकेको छैन,’ अध्यक्ष गुरुङले भने, ‘हाम्रो उद्देश्य प्रतिभा उजागर गर्नुका साथै सम्भावना भएका व्यक्तिलाई प्रोत्साहन गर्नु हो।’
सात सदस्यीय कार्यसमिति रहेको संस्थाले पहिलो कार्यक्रममा सांगीतिक क्षेत्रका युवालाई समेटेको भए पनि आगामी दिनमा विभिन्न क्षेत्रमा क्षमता भएका व्यक्तिलाई प्रोत्साहन र अवसर प्रदान गर्ने अध्यक्ष गुरुङले बताए।
कार्यक्रममा हङकङमा रहेका नेपाली ब्यान्ड अशान्त एन्ड साजन, उत्पत्ति र द मेल रकले सांगीतिक प्रस्तुति दिएका थिए। त्यसैगरी, नेपालीद्वारा सञ्चालित ग्यालेक्सी डान्स स्टुडियो, सिभाइन डान्स स्टुडियो र संयुक्त डान्स सेन्टरका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रमबाट संकलित रकम भोटेकोसी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने अध्यक्ष गुरुङले जानकारी दिए।
कार्यक्रममा धरान हङकङ मञ्चका अध्यक्ष संजोक राई, बास्केटबलका पूर्वराष्ट्रिय प्रशिक्षक तथा धरान हङकङ मञ्चका सचिव विकास चाम्लिङ राई, धरान युथ एसोसिएसनका अध्यक्ष अमोद तुलाधर, युवा नेता अर्जुन लिम्बू र मञ्चका सदस्य तथा युवा नेता आविष्कार लिम्बूलगायतको विशेष उपस्थिति रहेको थियो।
i
प्रतिक्रिया 0