धरान : पूर्वका प्रसिद्ध शक्ति पीठमध्ये एक धरान–१४ विजयपुरस्थित दन्तकाली मन्दिरमा शनिवार हर्षबढाइँ र नेपाली सेनाको सलामीसहित फूलपाती भित्र्याइएको छ।
नेपाली सेना,सशस्त्र प्रहरी बल,इलाका प्रहरी कार्यालय धरान र नगर प्रहरीको सहभागितामा धरानका बुढासुब्बा र पिण्डेश्वर मन्दिर परिसरबाट ल्याइएको फूलपाती विधिपूर्वक पूजा–आराधना गरी दन्तकाली मन्दिरको दसैँघरमा भित्र्याइएको हो।
फूलपाती भित्र्याउने क्रममा नेपाली सेनाले सलामी अर्पण गर्दै सम्मान प्रकट गरेको थियो। विगतमा दन्तकाली मन्दिर व्यवस्थापन समितिले आयोजना गर्दै आएको फूलपाती भित्र्याउने कार्यक्रम पछिल्ला पाँच वर्षदेखि धरान उपमहानगरपालिका वडा १४ कार्यालयको व्यवस्थापनमा हुँदै आएको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए।
भट्टराईका अनुसार नवरात्र सुरु भएसँगै दन्तकाली मन्दिरमा भक्तजनको चहलपहल बढ्ने गरेको छ। विशेष गरी सप्तमी, अष्टमी र नवमीका दिन मन्दिरमा भक्तजनको उल्लेख्य भीड लाग्ने गरेको बताए । वडाध्यक्ष भट्टराईले फूलपातीका रूपमा दुर्गा भगवतीको प्रतीक मानेर नवपत्रिका भित्र्याउने धार्मिक परम्परा रहेको र फुलपातीकोरुपमा केरा, दारिम, धानको बोट, हलेदो, मानेको बोट, कचु, बेलपत्रको हाँगो, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिकाका रूपमा सजाएर हर्षबढाइँसहित मन्दिरमा भित्र्याइएको उनले बताए।
नवपत्रिका भित्र्याउन पुजारी तथा स्थानीयवासीको टोली डोलीसहित जाने र धार्मिक विधिअनुसार फूलपाती ल्याउने परम्परा रहेको भट्टराईले जानकारी दिए। उनका अनुसार फूलपाती भित्र्याएपछि नवपत्रिकाको नित्य पूजा–आराधना गरिन्छ।
विगतमा सडकको असुविधाका कारण दन्तकाली मन्दिरबाट विजयपुर चोक हुँदै फूलपाती लिन पिण्डेश्वर मन्दिर जाने गरिन्थ्यो। पछिल्ला पाँच वर्षयता सडक सञ्जाल सहज भएसँगै बुढासुब्बा मन्दिर हुँदै फूलपाती ल्याउने गरिएको छ।
दसैँको सातौँ दिन अर्थात् सप्तमीका अवसरमा देशभरका शक्ति पीठहरूमा फूलपाती भित्र्याउने परम्परा छ। नवरात्रको यस दिन दुर्गा भगवतीको सातौँ स्वरूप कालरात्रिको विशेष पूजा–आराधना गरिन्छ।
फोटोफिचर :-



प्रतिक्रिया 0