धरान : युवा साथी क्लब धरान–३ को आयोजनामा सम्पन्न दोस्रो गौधारा फेस्टिभल कप–२०८३ को उपाधि धरान–१४ स्थित विजयपुर फुटबल क्लबले जितेको छ।
सोमबार साँझ सम्पन्न अन्डर–१४ उमेर समूहको फाइनल खेलमा विजयपुरले राइजिङ फुटबल क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
उपाधिसँगै विजयपुरले ५० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता राइजिङ फुटबल क्लबले २० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगितामा विजयपुर फुटबल क्लबका युनिस मगर हाइस्कोरर घोषित भए। त्यस्तै, उत्कृष्ट गोलकिपरको उपाधि राइजिङ फुटबल क्लबका खेलाडीले प्राप्त गर्दा प्लेयर अफ द टुर्नामेन्ट विजयपुर फुटबल क्लबका खेलाडी घोषित भए।
विजेता तथा उपविजेता टोलीका खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि युवा समाजसेवी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका धरान नगर सभापति सुमन श्रेष्ठले पुरस्कार वितरण गरेका थिए।
बालबालिकालाई सानै उमेरदेखि खेलकुद क्षेत्रमा प्रोत्साहन गर्दै प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको युवा साथी क्लबका अध्यक्ष सरल उदासले बताए। यस्ता प्रतियोगिताले बालबालिकालाई खेलकुदमा लाग्न थप हौसला प्रदान गर्नुका साथै आफ्नो प्रतिभा देखाउने अवसरसमेत सिर्जना गर्ने उनको भनाइ छ।
प्रतिक्रिया 0