धरान : सप्तकोशी नदीमा बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । दुर्घटनामा घाइते भएका एक जनाको उपचार भइरहेको छ ।

सशस्त्र प्रहरी बल,विपद् बेस चतराका अनुसार सप्तकोशी नदीको अरुण र दूधकोशीको दोभानमा बोटको इन्जिन बन्द भएपछि दुर्घटना भएको हो ।

आइतबार दिउँसो करिब १ः३० बजे भोजपुरको कोप्चेबाट १२ जना यात्रु बोकेर वराहक्षेत्रतर्फ आउँदै गरेको बोट दुर्घटनामा परेको सशस्त्र प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चार जनामध्ये तीन जनाको मृत्यु भएको र एक जनाको उपचार भइरहेको बताइएको छ । दुर्घटनामा एक जना बेपत्ता रहेको सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतले जानकारी दिए ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।