धरान : धरान–१२ चतरालाइन स्थित उपमहानगरपालिका कार्यालय परिसर आसपासको सडक निर्माण अधुरै रहेको छ।विभिन्न सडक खण्ड मर्मत तथा निर्माणका लागि अन्तुराम कन्स्ट्रक्सन, मोरङले ६९ लाख ७४ हजार ६५ रुपैयाँको ठेक्का पाएको थियो। निर्माण कम्पनीले पीएस (प्रोभिजनल सम) र कन्टिन्जेन्सीसहित उक्त रकमको ठेक्का पाएको हो।
विवरणअनुसार मूल निर्माण कार्यका लागि ६६ लाख ३४ हजार १७८ रुपैयाँ २५ पैसा,पीएसबापत १ लाख ५८ हजार ९८८ रुपैयाँ र कन्टिन्जेन्सीबापत १ लाख ८० हजार ८९८ रुपैयाँ छुटाइएको छ। निर्धारित समयभित्र काम सम्पन्न हुन नसक्दा सडक निर्माण अधुरै रहेको छ।
सडक निर्माणमा ढिलाइ हुँदा सडक धुलाम्मे बनेको र आवतजावतमा समस्या भएको स्थानीयवासीले गुनासो गरेका छन्। उनीहरूका अनुसार सडक मर्मतका लागि पटक पटक धरान उपमहानगरपालिकामा डेलिगेसन दिँदासमेत निर्माण कार्यले गति लिन सकेको छैन।
धरान उपमहानगरपालिकाको योजना तथा इन्जिनियरिङ महाशाखा प्रमुख सुरज श्रेष्ठले निर्माण कम्पनीले बेस ढलानलगायत केही काम मात्रै गरेको बताए। सम्झौताको अवधि समाप्त भइसकेकाले नियमानुसार क्षतिपूर्ति तिरेपछि मात्रै बाँकी काम अघि बढाउन सकिने उनको भनाइ छ।
श्रेष्ठका अनुसार निर्माण कम्पनीले सम्झौतामा उल्लेख भएअनुसार क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ। निर्माण कम्पनीले पुनः काम सुरु गर्ने भन्दै आफूलाई फोन सम्पर्क गरेको पनि उनले जानकारी दिए।
वर्षा र कामदार अभावलाई कारण देखाउँदै ठेकेदार :
धरान न्युजसँगको फोन सम्पर्कमा ठेकेदार पक्षका आकाश ढकालले भदौ र असोजमा भएको अत्यधिक वर्षाका कारण निर्माण कार्य प्रभावित भएको बताए। चाडपर्वका कारण कामदार समयमा उपस्थित हुन नसकेको र केही कामदार भारततर्फ गएकाले पनि ढिलाइ भएको उनको भनाइ छ।
ढकालले अधिकांश प्रारम्भिक तथा प्राविधिक काम सम्पन्न भइसकेको दाबी गर्दै कामदार फर्किन थालेकाले अबको केही दिनमै बाँकी कामलाई तीव्रता दिने बताएका छन्।
६९ लाख ७४ हजारको ठेक्का, कामको प्रगति भने अधुरै :
उपमहानगरपालिकाको पत्रअनुसार निर्माण कार्यको कुल सम्झौता रकम भ्याटसहित ६९ लाख ७४ हजार  ०६५ रुपैयाँ ७३ पैसा रहेको छ। २०८३ वैशाख १७ गते सम्झौता भएको उक्त निर्माण कार्य असार १७ गतेभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ।
सम्झौताअनुसार धरान–१५ का साम्पाङ मार्ग लुप, शीतल मार्ग ‘ख’ र पुष्पलाल मार्ग लुपका सडक खण्ड, धरान–५ को देउराली चोकदेखि किसान चोकसम्मको सडक, धरान–१२ चतरालाइनको केही भाग तथा धरान–२ त्रिभुवन पथस्थित पुतली लाइनको केही भागमा मर्मत तथा निर्माण गर्नुपर्नेछ।
निर्धारित समयभित्र काम सम्पन्न हुन नसक्दा सार्वजनिक रकमबाट सञ्चालन हुने योजनाको कार्यान्वयन र अनुगमनमाथि प्रश्न उठेको छ। निर्माण कार्यको वास्तविक प्रगति, ढिलाइको जिम्मेवारी र बाँकी काम सम्पन्न गर्ने समय सीमाबारे उपमहानगरपालिकाले स्पष्ट जानकारी दिनुपर्ने देखिन्छ।
dharan-12-samjhuta